२१ मंसिर, विराटनगर। दुई महिनादेखि प्रहरीले चुनौतीपूर्ण ठानेको १३ वर्षीया अंशु गौतम हत्या प्रकरण अन्ततः सुल्झिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र मोरङ जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले हत्यामा संलग्न भन्दै छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
मोरङको लेटाङ नगरपालिका-२ स्कुलचोककी अंशु गौतमको हत्या कन्चनपुरकी निर्मला पन्तको जस्तै संवेदनशील मुद्दासँग तुलना गरिँदै आएको थियो, किनभने प्रहरीलाई अपराधी पहिचानमा कठिनाइ भइरहेको थियो। घटनाको करिब दुई महिना र शब फेला परेको ४४ दिनपछि प्रहरीले पदमबहादुरलाई पक्राउ गर्न सफल भएको छ।
हत्या कसरी भयो?
गत २१ असोज दिउँसो अंशु छिमेकी साथी युरिका महतरासँग नजिकैको स्कुलमा खेलिरहेकी थिइन्। करिब ३ बजेतिर खेलिरहेको स्थानमा पुगेका पदमबहादुरलाई युरिकाले पैसा मागेपछि उनले ५ रुपैयाँ दिएर पठाइदिए। त्यसपछि अंशु एक्लै भइन्।
पदमबहादुरले घाँस काट्न सघाउन आग्रह गर्दै पैसा दिने प्रलोभन देखाएपछि अंशु जंगलतर्फ जान तयार भइन्। दिउँसो करिब ४ बजे पदमबहादुर हँसिया र डोरी बोकेर साइकलमा जंगलतर्फ गए, अंशु पैदलै पुगिन्। जंगल छेउमा भेटेपछि उनले बालिकालाई साइकलमा राखेर भीत्रतिर लगे।
प्रहरीका अनुसार सुनसान स्थानमा घाँस काट्दै गर्दा अधिकारीले बालिकासँग शारीरिक सम्बन्धका लागि दबाब दिए। नमान्दा उनले जबरजस्ती करणी गरे। प्रतिकार गरेपछि हातले घाँटी थिचेर हत्या गरे र शंका लागेपछि हँसियाले घाँटी रेटेको अनुसन्धानले देखाएको छ।
हत्या गरेर शव त्यहीँ छाडेर उनी सामान्य झैँ घाँसको भारी बोकेर घर फर्किएका थिए।
खोजीमा सक्रिय देखिँदै लुकाउन प्रयास
घटनाको राति अबेरसम्म अंशु घर नआएपछि परिवारले खोजी सुरु गर्यो। भोलिपल्ट प्रहरीमा निवेदन दिइयो। हत्या गर्ने स्वयं पदमबहादुर पनि परिवारसँगै खोजीमा सक्रिय देखिए। ‘बालिका भेटिन्छिन्’ भन्दै सान्त्वना दिन्थे।
हालै १८ दिनपछि प्रहरीले शव छुट्टाछुट्टै स्थानमा भेट्यो। कपडा पनि अलग-अलग ठाउँमा फेला परेका थिए।
अनुसन्धान कसरी अघि बढ्यो?
बालिकाले मोबाइल नबोक्ने र घटना-अगाडि देख्ने कोही नदेखिएकाले अनुसन्धान जटिल बन्न पुगेको थियो। प्रहरीले आफन्तसहित १६ जनाको पोलिग्राफ परीक्षण गर्यो। तर छिमेकी तथा वृद्ध भएकै कारण पदमबहादुर प्रारम्भिक शंकाको दायरामा थिएनन्।
घाँस-दाउरा लिन जंगल जानेहरूको क्रियाकलाप, मोबाइल नेटवर्क सक्रियता, सामाजिक प्रोफाइल, लेटाङ आउजाउ गर्ने व्यक्तिहरूको अवस्थासमेत अध्ययन गरियो। तर, कुनै ठोस प्रमाण तत्काल फेला परेको थिएन।
यसैबीच पदमबहादुर १९ कात्तिकमा घर छाडेर हिँडे। छोराले १८ कात्तिकमा जबरजस्ती करणी मुद्दाको सजाय भुक्तान गरी छुटेका थिए। ‘छोरा फर्किएपछि बुबाले घर सम्हाल भन्नुभई भारत जान हिँडेको जस्तो देखिन्छ,’ प्रहरी प्रमुख कबित कटवालले बताए।
पदमबहादुर भारतको मेघालय पुगेका रहेछन्। त्यहाँ गाई फार्ममा काम गरेको बयान दिएका छन्। घरका सबैसँग सल्लाह नै नगरी हिँडेको कुरा खुलेपछि प्रहरी झन् शंकित भयो। आफन्तमार्फत बोलाएपछि १८ मंसिरमा उनी घर फर्किए। त्यसैको भोलिपल्ट पक्राउ परे।
सुरुमा आरोप अस्वीकार गरे पनि अन्ततः उनले घटनाको स्वीकारोक्ति दिएका छन्। घटनापछि आफू आत्मग्लानीमा परेको दावी उनले प्रहरीसमक्ष गरेका छन्।
उनिमाथि बालिका बलात्कार तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।
-
स्रोत: अनलाइन खबर











