२० मंसिर, वर्दिबास। वर्दिबासका स्वतन्त्र युवाहरूले आज वर्दिबासमा विभिन्न सार्वजनिक संस्थानमा देखिएको भ्रष्टाचार र अनियमितताविरुद्ध खबरदारी गरेका छन्। उनीहरूले वर्दिबास साना सहरी तथा खानेपानी उपभोक्ता संस्था र वर्दिबासस्थित सरकारी अस्पताल परिसरमा प्रदर्शन गरेका थिए।
खानेपानी समितिको दोस्रोपटक बोलाइएका साधारण सभा स्थलमै पुगेर युवाहरूले ‘भ्रष्टाचार मुर्दावाद’, ‘फर्जी विधान मान्दैनौं’, ‘नियमित चुनाव घोषणा गर’ लगायतका नारासहित विरोध जनाए। समितिका सबै गतिविधि नियम, विधि र पारदर्शितामा आधारित हुनुपर्ने उनीहरूको माग छ।
यस्तै, वर्दिबास नगरपालिकाले सञ्चालन गर्दै आएको वर्दिबास नगर अस्पतालमा पनि उनीहरूले खबरदारी कार्यक्रम चलाए। अस्पताल व्यवस्थापन समितिको नियमित बैठक चलिरहेको समयमा पुगेका युवाहरूले अस्पताल सेवामा बाहिरी बिरामीले भोगिरहेका समस्या समिति पदाधिकारीसमक्ष उठाए।
कार्यक्रममा युवा कपिल रिसालले अस्पतालमा औषधि म्याद गुज्रेर फाल्ने तर बिरामीले चाहिँ आवश्यक औषधि नपाउने स्थितिप्रति ध्यानाकर्षण गराए। त्यस्तै, युवा रोशन मगरले ‘राइट म्यान, राइट प्लेस’ को अवधारणा अनुसार अस्पताल व्यवस्थापन समिति पुनर्गठन गर्नुपर्ने माग राखे।
उनीहरूले अस्पतालमा चिकित्सक समयमा नभेटिने तर निजामती क्षेत्रमा उही चिकित्सक भेटिने, उपचार शुल्क महँगो लिने, रेबीजको खोप नियमित उपलब्ध नहुनु, बिरामी चापअनुसार चिकित्सकको अभाव, बीमा तथा निशुल्क औषधि नपाइने, सरसफाइमा लापरबाहीजस्ता समस्या तत्काल समाधान गर्नुपर्ने सुझाव दिए।
अस्पतालका सेवा–सुविधाबारे सर्वसाधारणलाई स्पष्ट जानकारी गराउनुपर्ने र आम्दानी–खर्च पारदर्शी हुनुपर्ने youth समूहको माग छ। समितिका प्रवक्ता जगत खड्काले युवाहरूको खबरदारीले आगामी दिनमा अस्पताल सेवामा सुधार ल्याउन सहयोग गर्ने बताए। उनले सरकारी नीति–नियमका कारण कतिपय समस्यामा तुरुन्त सुधार गर्न कठिनाइ भएको पनि उल्लेख गरे।















