मधेस – चन्दन रजक। केन्द्रित सात दलको सहभागितामा बनेको संघीय लोकतान्त्रिक मोर्चा आगामी फागुन २१ गते हुने निर्वाचनमा संयुक्त रूपमा अघि बढ्ने निर्णयमा पुगेको छ। जनमत पार्टीका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतले मोर्चाभित्रको एकता मधेस-राजनीतिक यात्राको मुख्य आधार भएको बताएका छन्।
शनिबार काठमाडौंको बबरमहलमा बसेको बैठक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा सम्पन्न भयो। बैठकले स्वच्छ, शान्तिपूर्ण, धाँधलीरहित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यक सुरक्षा र व्यवस्थापन सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
मोर्चामा जनमत पार्टी (डा. सीके राउत), जसपा नेपाल (उपेन्द्र यादव), लोसपा नेपाल (महन्थ ठाकुर), नागरिक उन्मुक्ति पार्टी (रेशम चौधरी), राष्ट्रिय मुक्ति पार्टी (राजेन्द्र महतो), जनता प्रगतिशील पार्टी (हृदयेश त्रिपाठी) र तमलोपा (वृषेशचन्द्र लाल) गरी सात दलको सहभागिता रहेको छ।
यी दलहरूबीचको सहमति र सहकार्यलाई मधेस-केन्द्रित राजनीतिक शक्तिहरूको एकताबद्ध र परिणाममुखी कदमका रूपमा लिइएको छ।
डा. राउतले बैठकमा भने, “मोर्चाका सबै घटक मिलेर अघि नबढ्ने विकल्प छैन। संयुक्त रूपमा अघि बढ्ने निर्णयले मधेसका मुद्दालाई सशक्त रूपमा राष्ट्रिय मञ्चमा स्थापित गर्नेछ,” भन्ने विश्वास व्यक्त गरे।
मधेसका सात दलबीचको यो सहकार्यले आगामी निर्वाचनमा स्थिर विकल्प र बलियो राजनीतिक प्रभाव सिर्जना गर्ने अपेक्षा गरिएको छ।











