जनकपुर। मधेश प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) सहभागी हुने भएको छ। पार्टीले दुई मन्त्रालय पाएर सरकारमा प्रवेश गर्ने निर्णय गरेको हो।
शुक्रबार काठमाडौँमा बसेको माओवादी केन्द्र प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता भरत साह र सांसद फकिरा महतोलाई मन्त्री बनाउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ। साह महोत्तरी क्षेत्र नं. १ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् भने महतो सर्लाही क्षेत्र नं. ४ ‘ख’ बाट प्रतिनिधित्व गर्छन्।
विश्वासको मत प्रक्रियापछि उनीहरू मन्त्री पदको शपथग्रहण गर्ने तयारी भइरहेको बताइएको छ।
स्रोतका अनुसार माओवादी केन्द्रले सरकारमा प्रवेशसँगै ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय र स्वास्थ्य मन्त्रालय पाउनेछ। मन्त्रालयहरूको औपचारिक घोषणा भने शपथपछि सार्वजनिक हुने अपेक्षा गरिएको छ।










